धुर्कोटमा निःशुल्क स्वास्थ्य शिविरबाट चार सय लाभाम्बित
" स्थानीय तुलसा पोखरेलले गाउँमा शिविर नभएको भए आफु बुटबल जानुपर्ने बताइन् । ‘बुटबल जाने तयारीमा थिए, तर शिविर गाउँमै आएपछि यही जाँच गराए ।’ उनले आफु बुटबलसम्म जाने–आउने यातायात खर्च एवं समयको पनि बचत भएकोले शिविर आयोजक एवं डाक्टरहरुलाई धन्यवाद दिइन् । जैसिथोक रिपकी बेलसरा विक निःशुल्क औषधी प्राप्त गरेकोमा खुसि छिन् । ‘औषधीको कुनै शुल्क लागेन ।’ विकले भनिन्, ‘विभिन्न समयमा यस्ता शिविरहरु आयोजना गर्दा आभारी हुनेथियौँ ।’ "गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकमा संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट चारसय जना लाभाम्बित भएका छन् । जैसिथोक सामुदायिक सिकाई केन्द्रको आयोजना, बुटबल हस्पिटल प्रा.लि.को सहयोग एवं धुर्कोट गाउँपालिका र ४ नम्बर वडा कार्यालयको समन्वयमा शनिबार बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।शिविरमा सर्जन, हाडजोर्नी, जनरल फिजिसियन, बालरोग, महिला तथा प्रसुती लगायतका रोगको उपचार गरिएको थियो ।
शिविरबाट गरिब, विपन्न एवं कमजोर आर्थिक अवस्था भएका नागरिक सबैभन्दा बढी लाभाम्बित भएका छन् ।
त्यसैगरी गाउँमै विशेषज्ञ डाक्टरसहितको सेवा पाउँदा नागरिकलाई समय र पैसाको समेत बचत भएको छ । ‘सुगर र थाइराइड भएर आएको, औषधी लिएर फर्के ।’ जैसिथोकका चुरामणी घिमिरेले भने, ‘बुटबलका डाक्टर गाउँमै आएर सेवा दिदाँ खुसि छौँ ।’ उनले आफुसहित श्रीमतीलाई पनि शिविरमा लगेर उपचार गराएको बताए ।
अर्की स्थानीय तुलसा पोखरेलले गाउँमा शिविर नभएको भए आफु बुटबल जानुपर्ने बताइन् । ‘बुटबल जाने तयारीमा थिए, तर शिविर गाउँमै आएपछि यही जाँच गराए ।’ उनले आफु बुटबलसम्म जाने–आउने यातायात खर्च एवं समयको पनि बचत भएकोले शिविर आयोजक एवं डाक्टरहरुलाई धन्यवाद दिइन् । जैसिथोक रिपकी बेलसरा विक निःशुल्क औषधी प्राप्त गरेकोमा खुसि छिन् । ‘औषधीको कुनै शुल्क लागेन ।’ विकले भनिन्, ‘विभिन्न समयमा यस्ता शिविरहरु आयोजना गर्दा आभारी हुनेथियौँ ।’
जैसिथोक सामुदायिक सिकाई केन्द्रका अध्यक्ष राजन पोखरेलले दुर्गभ भेगका नागरिकलाई विशेषज्ञ सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको बताए । त्यसका साथै उनले सिकाई केन्द्रले विद्यार्थीहरुलाई लागु औषध नियन्त्रण, विभिन्न सचेतनाका कार्यक्रमहरु लगायतका कार्यक्रमहरु पनि संचालन गर्दै आएको बताए ।जैसिथोक स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष केशव पोखरेलले आर्थिक अभावकै कारण रोग लुकाउन बाध्य भएका नागरिकले शिविरबाट फाइदा लिएको बताए । शिविरबाट दमको पहिचान भएका एकजनालाई थप उपचारको लागि बुटबल रिफर गरिएको छ ।
शिविरमा जनरल सर्जन कृष्ण प्रसाद खनाल, पेट, छाती तथा मुटुरोग विशेषज्ञ डा. सागर पौडेल, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बिन्दु पोखरेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. उत्सव रेग्मी र बालरोग विशेषज्ञ डा. प्रदिप शर्मा लगायतको टिमले सेवा दिएको सहजकर्ता भरत जंग क्षेत्रीले बताए । उनले पछिल्लो एक बर्षमा गुल्मीका विभिन्न ठाउँका साथसाथै अर्घाखाँची, बाग्लुङ, कपिलवस्तु लगायतका ठाउँमा स्वास्थ्य शिविर आयोजना गरिएको बताए । गाउँगाउँमा स्वास्थ्य शिविरको आयोजना गर्दा स्वास्थ्य पर्यटनको सम्भावना समेत बढेको उनले बताए ।
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले निर्वाचनमा गरेको स्वास्थ्यसम्बन्धि प्रतिबद्धताअनुसार गाउँगाउँमा स्वास्थ्य शिविरको आयोजना गरेको बताए । बुटवल अस्पतालका प्रमुख डा. कृष्ण खनालले गाउँमा खानपान र सरसफाइका कारण नागरिकलाई विभिन्न राेग लागेको बताउदै जीवनशैली सुधार गर्न आग्रह गरे ।



