दैनिक उपभोग्य सामग्री अभाव हुन नदिन प्रशासनको निर्देशन



गुल्मी – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सरोकारवालासँग महत्वपूर्ण छलफल भएको छ । निर्वाचन अवधिमा जिल्लामा खाद्यान्न, औषधी, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन आवश्यक तयारीबारे विस्तृत छलफल गरिएको हो ।

बैठकमा हालको स्टक तथा आपूर्ति अवस्थाको समीक्षा गर्दै सम्बन्धित व्यवसायीहरुलाई पर्याप्त मौज्दात राख्न निर्देशन दिइएको छ । कुनै समस्या उत्पन्न भए तत्काल प्रशासनसँग समन्वय गर्न आग्रह गरिएको छ ।


Advertisement
Advertisement
Advertisement

त्यसैगरी गुल्मी उद्योग वाणिज्य संघ तथा चेम्बर अफ कमर्श ले जिल्लाभर अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति सुनिश्चित गर्न आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए । बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने, कालोबजारी गर्ने तथा अखाद्य वस्तु बिक्री वितरण गर्ने कार्यलाई कडाइका साथ नियन्त्रण गरिने निर्णय गरिएको छ ।

सुरक्षा तथा निर्वाचन अवधिमा हुन सक्ने दुरुपयोग रोक्न पेट्रोलियम पदार्थको खुला बिक्री वितरणमा निगरानी बढाइने प्रमुख जिल्ला अधिकारी गैरेले बताए । होटल व्यवसायीहरुलाई बास बस्ने व्यक्तिहरुको अनिवार्य अभिलेख राख्न तथा शंकास्पद गतिविधिमा सतर्क रहन निर्देशन दिइएको छ ।

निर्वाचन आचारसंहिता २०८२ पालना गर्दै निर्वाचन व्यवस्थापन कार्यमा सबै पक्षले सहयोग र सहजीकरण गर्ने निर्णय बैठकले गरेको गुल्मी प्रशासनले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।


Ticker news is only displayed on the front page.