सामाजिक अभियन्ता क्षेत्री : जसले भजन–कीर्तन गरेर जन्मदिन मनाए
गुल्मी – कुनै समय जन्मदिन परिवारसँग घरमै बसेर मनाउने चलन थियो। आमाबुबा र अग्रजबाट टीका तथा आशिर्वाद लिएर गाउँघरकै अर्गानिक खाना खाँदै जन्मदिन मनाइन्थ्यो। तर अहिले समय फेरिएको छ। जन्मदिनका नाममा होटल, रेस्टुरेन्ट र पार्टी प्यालेसमा पुग्ने, केक काट्ने र अनावश्यक खर्च गर्ने प्रचलन बढ्दो छ।
यही परिवेशका बीच सामाजिक अभियन्ता चिरन क्षेत्रीले भने फरक ढंगले आफ्नो जन्मदिन मनाएका छन्। उनले भड्किलो कार्यक्रम नगरी आफ्नै ठाउँमा भजन–कीर्तन, आरती र नाचगानसहित जन्मदिन मनाएका हुन्।
मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ स्थित शंखनगर वनबाटिका चोकमा भव्य धार्मिक कार्यक्रम गर्दै क्षेत्रीले जन्मोत्सव मनाए। उनले होटल वा पार्टी प्यालेसको सट्टा समाजलाई सकारात्मक सन्देश दिने उद्देश्यले धार्मिक तथा सांस्कृतिक कार्यक्रम रोजेको बताए।
क्षेत्रीले भने, “पछिल्लो समय जन्मदिनका नाममा अनावश्यक खर्च गर्ने प्रवृत्ति बढेको छ। हाम्रो पुरानो संस्कार र संस्कृति हराउँदै गएको छ। त्यसैले जन्मदिनलाई संस्कार जोगाउने अवसरका रूपमा प्रयोग गरेको हुँ।”

उनका अनुसार युवापुस्ता विस्तारै मौलिक संस्कारबाट टाढिँदै गएका छन्। वैदेशिक रोजगारी, बेरोजगारी र आधुनिक जीवनशैलीका कारण धार्मिक तथा सांस्कृतिक चासो पनि घट्दै गएको उनले बताए। यही कारण आफूले जन्मदिनलाई समाजलाई सन्देश दिने माध्यम बनाएको उनको भनाइ छ।
समाजसेवी तथा स्वास्थ्यकर्मी भरतजंग क्षेत्रीले चिरनको यो कार्य अनुकरणीय भएको बताए। “जन्मदिनका नाममा होटलमा गएर धेरै खर्च गर्नुको सट्टा यसरी समाजलाई राम्रो सन्देश दिने काम गर्नु प्रशंसनीय हो,” उनले भने।
भड्किलो जन्मदिनको भीडमा चिरन क्षेत्रीको यो प्रयास उदाहरणीय बनेको छ। यसले जन्मदिन केवल रमाइलो गर्ने दिन मात्र नभई समाज, संस्कार र जिम्मेवारी सम्झिने अवसर पनि हो भन्ने सन्देश दिएको छ। कार्यक्रममा स्थानीयवासी र युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
क्षेत्री जन्मदिनका अवसरमा मात्र होइन, अन्य समयमा पनि समाज परिवर्तन र युवामा सचेतना फैलाउन विभिन्न धार्मिक तथा सामाजिक गतिविधिमा सक्रिय छन्। जन्मदिनको अवसरमा गरिएको स्वस्तिक बाचनदेखि भजन कीर्तन सहितको नाचगानले समाजमा नेपाले भजनको महत्व र मौलिकता जोगाउने अभियानमा थप टेवा पुगेको छ ।



