गुल्मीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु
गुल्मी – गुल्मीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाको मजुवादेखी शान्तिपुर जाँदै गरेको लु १७ प १६४४ नम्बरको स्कुटर सिस्नेखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
स्कुटर दुर्घटना हुँदा चन्द्रकोट ६ का ३० वर्षीय विनोद बिक र ४० वर्षीय किरणकुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी)शंकर पोखरेलले जानकारी दिए । दुर्घटनामा परेका बेहोस अवस्थामा रहेका दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनीले मृत घोषणा गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार स्कुटर बिहिवार साँझ ४ः५० बजेको समयमा मजुवा–रिडी सडकखण्डमा करिब २००÷२५० मिटर तल सिस्नेखोलामा खसेको थियो । स्कुटर दुर्घटना बारे सत्यवती गाउँपालिका –६ चोरकाटे बस्ने शंकर भण्डारीले प्रहरीलाई खबर गरेका थिए । दुर्घटनाको खबर पाएलगत्तै चार जना प्रहरीको टोली घटनास्थलमा खटिएको थियो । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।