कसले सुरु गर्यो गाईजात्राको चलन ?
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ ।
विभिन्न समय र परिस्थितिको कारणले गर्दा विभिन्न उद्देश्य हासिल गर्न मानिसहरूले विभिन्न कार्यहरू गरेको पाइन्छ । यही कारणले गर्दा मानिसले समाजका साथसाथै संस्कार र संस्कृतिहरूको विकास क्रमिक रूपमा गर्दै लगिरहेको पाइन्छ । यी मध्ये गाईजात्रा पनि एक हो । पद्मपुराण अनुसार नेपालमा आजभन्दा दुई हजार वर्ष भन्दा अगाडिदेखि गाईजात्रा मनाउँदै आएको भन्नेसूचना छ । यसको इतिहास राजा प्रताप मल्लको पालामा उनले आफ्नी रानीको पुत्रशोकको पीडा कम गर्न सुरु गरेको गाईजात्रा विभिन्न समय र परिस्थितिका कारण नेवारहरूले राज्यको विभिन्न ठाउँमा विभिन्न तरिकाबाट मनाउने परम्परा निर्माण भयो ।
बार र तिथिअनुसार नवौं महिनामा पर्ने “गुँला” पारु अर्थात् भाद्रकृष्णपक्ष पारुको दिनलाई गाईजात्रा पर्व (सापारु अथवा सायाः) को रूपमा मनाउँदै आईरहेको दिन हो । जनैपूर्णिमा (गुंपुन्हि) को भोलिपल्टको दिनलाई गाईका जात्रा गर्ने भएकाले यस दिनलाई गाईजात्रा (सापारु) भनेर नामकरण गरिराखेको हो । गाईजात्रा यसरी नै मनाउनुपर्छ र गाईजात्रा कतिबेलादेखि सुरु भएको भन्ने कुरा निश्चित भएको छैन । तर, पनि नेवार समाजभित्र प्रत्येक वर्ष यो दिनलाई गाईजात्रा पर्वको रूपमा मनाउँदै आइरहेका छन् । धार्मिक भावनाको रूपमा यो दिन एकवर्ष भित्र मृत्यु भएका मान्छेको आत्मा स्वर्गमा पठाउने दिनको रूपमा मनाउँदै आइरहेका छन् । यो दिन नेवार समाजमा बज्राचार्य, बरे र उराय्बाहेक अरू सबै जातिहरूले एक वर्ष भित्र मरेको मृतकका नाममा मृतकको घर परिवारहरूले गाईजात्रा पठाउने चलन छ ।
यसरी हिन्दू र बौद्धहरू शून्य अवस्थामा नपुगेसम्म त्यसको रूप विभिन्न वस्तुहरूमा निहित रहिरहने भएकाले त्यस आत्मालाई शून्य रूप दिनका लागि मृत्यु संस्कार र सांस्कृतिक गतिविधिहरू गर्दै आइरहेको देखिन्छ । ऋग्वेदकालमा मानिसको लासलाई गाड्ने र जलाउने दुवै चलन देखिन्छ । लासलाई जलाउँदा अग्नि देवतालाई शरीरमा कुनै कष्ट नहोस् भनी प्रार्थना गरेको देखिन्छ । अग्निलाई देवताको रूपमा प्रतिस्थापित गरेर, अग्निको माध्यमबाट नै पितृलोकमा पुग्ने विश्वास गरिन्छ । अग्नि देवतालाई सम्पूर्ण देवताको मुख्य देवताको मुखको रूपमा लिइन्छ । त्यसैले जुनसुकै नाम लिएर अग्निमा स्वाहा गर्दा पनि ती सबै देवताहरूको पेटमा पुग्छ भन्ने विश्वास गरिन्छ ।
त्यसैले अग्निलाई पवित्र वा शुद्धताको प्रतीकको स्वरूपमा लिइन्छ । ऋग्वेदमा पनि शरीर वा प्राणीलाई अग्निमा होमिएपछि सम्पूर्ण पापबाट मुक्ति हुन्छ भनेर व्याख्या गरेको पाइन्छ भने सूत्रकालमा आएर होम गर्नु, बलि दिनु भनेको अर्को जन्मको लागि शक्ति सञ्चयको रूपमा व्याख्या गरेको छ । मानिसको मृत्यु भएपछि अग्निदाह गरिन्छ । जसलाई बलिको रूपमा लिइएको छ । पछि आएर ब्राम्हणहरूको रहस्यपूर्ण शक्तिको माध्यमद्वारा अर्को जुनीमा यी सबै प्राप्त हुने विश्वास गर्न थालियो । यही धारणाको विकासले गर्दा मृत्यु संस्कारलाई अन्त्येष्टि संस्कार भन्न थालियो । जसको अर्थ अन्तिम+इष्ठि=अन्त्येष्टिको धारणा सँगसँगै व्यक्तिको अन्त्येष्टि वा यज्ञमा बलि चढाउने, अन्न होमिने आदि हुन थाल्यो । गाई ब्राखा आदि पनि यज्ञमा होमिन्थ्यो । गाई, ब्राखालाई परलोकको यात्रा गर्दाको साथी वा मार्ग निर्देशनको रूपमा लिइयो । मृत्युपश्चात् मृतकलाई लक्ष्यसम्म पु¥याउने कार्य गर्ने मित्रको रूपमा गाईलाई लिइएको हुनाले यसलाई अनुस्तरणी वा वैतरणी शब्दको प्रयोग गरेको हो भन्ने देखिन्छ ।
नेपालमा गाईजात्रा कहिलेदेखि मनाउन आरम्भ भयो भन्ने कुरामा इतिहासकार या विद्हरूमा मतभेद रहेको पाइन्छ । गाईजात्रा पर्वपरापूर्व कालदेखि मनाउँदै आइरहेको हो भन्नेमा एक मत छ । गोपाल राजवंशभन्दा अगाडिदेखि नै मृतकका नाममा गाईजात्रा गर्ने चलन रहिआएको अनुमान गर्न सकिन्छ तर योभन्दा अगाडिको इतिहास त्यति भरपर्दाे अभिलेख स्रोत र प्रमाणहरू कुनै पनि फेला परेको छैन । त्यसकारण गोपाल राजवंशको राज्यकालदेखि यस
सम्बन्धी स्रोतहरू फेला परेको छ । त्यति बेलादेखि वा त्योभन्दा अगाडि नेपालमा पशुपालन नै मानिसहरूका जीविकोपार्जनको आधार देखिन्छ । यिनीहरू गाई पाल्ने (ग्वाला) गोपालीहरूको व्यवसायको आधारमा वंशको नाम रहन गएकाले त्यति बेला यो पशुपालन व्यवसाय निकै लोकप्रिय रहेको देखिन्छ । नेपाल भूमि उर्वरा शक्ति भएकाले यहाँ पशुचरणहरू प्रशस्त मात्रामा थिए भने खेतीपातीको सुरुवात पनि गर्न उनीहरूले थालिसकेको सूचना पाइन्छ । वर्तमान कीर्तिपुर, थानकोट, बलम्बु, टिस्टुङ, पालुङ आदि ठाउँहरूमा त्यसबेलाका मानिसहरूको बस्ती भएको अनुमान गरिन्छ ।
शुभ विवाह भएको वर्षको श्रावण महिनामा पुतली (झरे) प्रदर्शनी गर्न आवश्यक बन्दोबस्त गरियो । घण्टाकर्ण चतुर्दशीको दिन मुन्ड झुन्ड्याउने श्रावण शुक्ल त्रयोदशीको दिनमा प्रदर्शन गर्ने । गाईजात्राको दिनमा (सायातकोन्हु) झवापानमा उठाइ मूलबाटोबाट पठाउने त्यसको चार दिनपछि भाटभटिनीको पुतलीजस्तै पूजा गर्ने, हिसा देवलाई पानी छर्कने त्यसपछि झ्वापानलाई देशमा वलि दिने कार्य गर्नु पर्दैन भन्ने उल्लेख गोपाल राजवंशावलीमा उल्लेख रहेको छ ।