छोराको पत्र : बुवा म आइसकेँ, मलाई अन्तिमपटक पर्खिरहनुस् है



बुवा म आइसकेँ, मलाई अन्तिमपटक पर्खिरहनुस् है । तपाईंको सग्लो अनुहार हेर्न मेरा भिजेका नयनहरु ओभानो भइसकेका छन् । अब त आँखाको पानी पनि रित्तिसकेछ । म तपाईंलाई हेर्ने आँट लिएर पोको पन्तुरो कस्दैछुँ । बुवा म आज आफैलाई धिक्कार्दै छुँ, देश बनाउन दौडिएको महामानवको छोरो परदेशमा भौतारिएको छ । आफ्ना देवतुल्य बुवाको आवाज गुमाएको छ । केही समय आफूलाई पर्खिएको चीर निन्द्राको शरिरलाई सुम्सुम्याउन बाहेक ऊ सँग अर्को विकल्प छैन । भक्कानिएकी मेरी आमा, बहिनी कसरी सम्हालिन् होला ? आफ्नै अगाडि एउटा खम्बा ढल्दा उनीहरुलाई कम्ति चोट परेको छैन ।

बुवा, परदेशिनु मेरो बाध्यता होइन, कति रहर जोडिएका छन्, कैँयन मेरा सपनाहरु छन् । म त्यो गरिबको कोखबाट जन्मेको भए मेरा चाहाना अलि सिमित हुन्थे होलान् तर म एक शक्तिशालीको कोखबाट धर्तिमा झरेछुँ । मैले यो देशमा सम्भावना नदेखेको होइन, म थप सम्भाव्यता अध्ययन गर्न परदेशिएको हुँ । म चित्त बुझाउँदै छुँ, मेरो मात्र होइन सारा नेपालीको पीडा यस्तै छ । बुढा आमाबा भित्तासँग कानेखुसी गर्छन्, बामे सरेको बालकझैँ ओहोरदोहोर गर्छन् मात्र मृत्यु कुरिरहेका हुन्छन् । छोराछोरीहरु मृत्युको खबर कुरिरहेका हुन्छन् ।


Advertisement
Advertisement

बुवा, हजुरले मात्रै चाहेर देशको कायापलट त पक्कै हुने थिएन । तपाईंले आफ्नो अभिभारा पूरा गरेर जानुभयो । २०७२ सालको संविधान जारी गर्दा कम्ता दुःख थिएन । देशी, विदेशी तत्वको आँखाको तारो बन्नुभएको थियो । माओवादीको जगजगी, सेनाले सिंहदरबार घेर्ने हल्ला, छिमेकीको धम्की सबै स्थितिलाई संयमतापूर्वक आफू अनुकुल बनाउनु त्यो तपाईंको खुबी थियो । मात्रै धेरै सम्भावना छोडेर जानुभयो, ती अवसर गुमाएर जानुभयो । हुनत भगवानको घरमा पनि तपाईंजस्तै महामानवको खाँचो खड्कियो होला । त्यै भएर यति निर्दयी बन्नुभयो होला ।

आज यो पीडा हरेक नेपालीको साझा बनिदिएको छ । बुवा, पीडा सानो ठूलो हुँदैन यसलाई तौलिन मिल्दैन । आजपनि तपाईंजस्तै चीर निन्द्रामा धेरै जना हुनुहुन्छ । तर, मेरो मनमा काउकुतीले किन छोडिरहेको छैन ? किन मलाई अत्यास लागिरहेको छ ? किन म आफै बेहोसी बनुला जस्तो भएको छ ? म अर्काको भूमिमा भएर पनि होला । भनेको समयमा टिकट पाइँदैन, भनेको समयमा जहाज उड्दैन । मलाई त रातिनै आउने मन थियो, मेरा बुवाको निश्कलंक अनुहारमा म्वाई खाने मन थियो ।

बुवा, म सोचिरहेको छुँ भोलि मेरी आमाको दिनपनि यस्तै त हुने होइन ? म नेपालमै बसौँ की फर्किउला केही सोच्न सकेको छैन । अब तपाईंजस्तो महान बन्नलाई मलाई सहज छैन । किनकी तपाईंले मलाई यो परिस्थितिबाट टाढा राख्नुभयो, राजनीतिको छायाँ पर्न दिनुभएन । मेरी आमा पनि राजनीतिबाट निकै पर बस्नुभयो । तपाईंले अरुका जस्तै परिवारका जम्मै सदस्यहरुलाई राजनीतिमा ल्याउन चाहानुभएन । न हामीलाई यो खेल खेल्न सिकाउनुभयो । अब कसरी बसौँला यो देशमा ?

मलाई कहिल्यै नमेटिने घाउ दिएर जानुभो, कहिल्यै नभेटिने ठाउँमा जानुभो । म विमानस्थलभित्र पस्दैछुँ । तपाईंको अनुहार एकपटक भएपनि हेर्ने मन छ । हजारौँ तपाईंका शुभेच्छुकहरुले सम्झिरहनेछन्, हामी पनि सम्झिरहने छौँ । हार्दिक श्रद्धाञ्जली बुवा ।। स्रोत : सडक मिडिया

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन